आकाङ्क्षाका पानाहरुमा
समेटिएको यो जीवनमा
च्यातिएका ती पानाहरु
स्वयमहित्को तान्डवसँगै
कुल्चिएका भावनाहरु ।
तिनै जलेका पानाहरु
धुँवा बनी उडेको छ
संसार जस्तो भएपनि
अदृश्यतामा रमेकोछ ।
हिमालका ती कोप्चारामा
हिउँसँगै जमेकोछ ।।
सुरको धुनमा बज्दा यसलाई
शब्दकोशमा खोजेपछि
आफुलाई नचाहरि
धर्मग्रन्थ रटेपछि
न्यायका ती किताबले नै
सत्यतालाई ढाकेपछि ।
सत्य आज मरिसक्यो
जीवनलाई छाडेपछि
मृत्यु सत्य बनिसक्यो
सत्य खोज्न थालेपछि ।।
गढिमाईको मन्दीरमा
मृत्यु नै त सत्य बन्यो
न्याय बन्यो धर्म बन्यो
सत्य सँधै एक्लो बन्यो ।
कतै मुस्कान लहरसँगै
कतै रगत खोलो बग्यो
आलो रगत चरुसँगै
सत्य यज्ञ भष्म बन्यो ।
त्यै भष्मको कालो टीका
धर्मको त प्रतिक बन्यो
सत्य अब जलिसक्यो
यो माटोलाई त्यागिसक्यो
विनाशतिर लम्काएर
संसारदेखि भागिसक्यो ।।